चाडबाडमा लागेको ऋण तिर्न खोलामा सुन खोज्दै बोटे समुदाय

अमरराज नहर्की, दमौली । तिहार पर्व नजिकिदै गर्दा तनहुँका बोटे समुदायलाई भने दशैमा लागेको ऋणले पिरोल्न थालेको छ । यहाँका बोटे समुदाय तिहार पर्व घर आँगनमा भित्रिसक्दा समेत ऋण तिर्नकै लागि खोलाको बालुवा चालेर सुन खोज्न बाध्य छन् ।

‘आयो दशैं ढोल बजाई गयो दशैं ऋण बोकाई भन्ने नेपाली उखान जस्तै व्यास नगरपालिका–१० बोटेगाउँका कर्णबहादुर बोटेले ३५ हजार रुपियाँ ऋण खोजेर दशैं राम्रोसँग मनाए । त्यही ऋण तिर्न बोटे यतिबेला बालुवामा सुन खोज्न सबै परिवार सहित नदी किनारामा पुगेका छन् ।

‘वर्षेनी दशैंको समयमा ऋण खोजेर मनाउने र हिउँद लागेपछि बालुवामा सुन चालेर तिर्दै आएको छु ।’ बोटेले भन्नुभयो । उहाँ जस्तै बोटे गाउँका अधिकांश बोटेहरु दशैंमा लागेका ऋण चुक्ता गर्न र परिवार पाल्न नदी किनारमा पुगेका छन् ।

साहुको ऋण तिर्न र जिजु बाजेको पूख्र्यौली पेशा जोगाउन सुन खोज्न नदी तर्पm लाग्ने गरेको बोटेहरुको भनाई छ । बोटे समाजका अध्यक्ष निरज माझीले दशै मान्दा लागेको ऋण तिर्न अधिकांश सुन खोज्न नदी किनारमा गएको केही जाने तरखरमा रहेको जानकारी दिनुभयो ।

बालुवामा सुन चाल्ने डुड, चिनौटो पार्टी, फलामे कुटो लिएर बोटेहरु नदी किनारमा पुगेका हुन् । ५२ वर्षीय मेषबहादुर बोटे श्रीमती सानी मायालाई लिएर बालुवामा सुन चाल्न नदीमा जान लागेको जानकारी दिनुभयो ।

दशैं मान्दा लागेको ४० हजार ऋण तिर्न र परिवार पाल्न नदीमा सुन खोज्न हिँडेको बताउनुभयो । मस्र्याङदी, त्रिशुली, बुढी कालीगण्डकीमा सुन खोज्न जाने उहाँले बताउनु भयो । त्रिपाल, जान ओढ्ने ओछ्याउने र भाडाकुँडा बोकेर हिँडेको उहाँ बतानुहुन्छ । दशैको कोजाग्रत पूर्णिमाको एकदुई दिनपछि नै बोटेहरु आफ्नो अनुकुल मिलाएर नदी किनारतर्फ सुन खोज्न जाने गर्दछन् ।

नदीहरुमा जथाभावी डोजर लगाइदा पहिला जस्तो सुन पाउन छोडिएको विरबहादुर बोटेले बताउनुभयो । पानी धेरै परेर बाढी ठुलो आएको बेला बालुवामा धेरै सुन पाईने मङगली बोटेले बताउनुभयो । ‘बाढी पहिरो आउँदा सुन खानीमा धेरै ठक्कर दिँदा बालुवामा सुनको मात्र धेरै हुन्छ ।’ मङ्गलीले भन्नुभयो ।

सन्तबहादुर बोटे कर्णाली नदीमा झन् धेरै सुन पाईने बताउनुहुन्छ । आवत÷जावतको लागि झन्झटिलो भएको कर्णालीमा जान कठिन भएको उहाँ बताउनुहुन्छ । ३२ घर बोटे समुदाय रहेको र केटाकेटी र बुढाबुढीलाई घरमा छोडेर पाखुरीमा बल भएकाहरु सुन खोज्न जाने गरेको हर्कबहादुर बोटेले जानकारी दिए ।

व्यास नगरपालिका ५ को पाटन र व्यास नपा ७ को पाथ्राका बोटेहरु पनि सुन खोज्न जाने बोटे समाजले जनाएको छ । वैशाख महिना सम्म सुन खोज्ने र एक तोला देखि डेढ तोला सम्म सुन वार्षिक रुपमा ल्याउने गरेको उनिहरुको भनाई छ ।

सुन चाँदी पसले कहाँबाट ऋण लिइ दशै मान्ने र सुन खोजेर ऋण तिर्ने प्रचलन बोटेहरुको प्रचलन भएको समाजका अध्यक्ष माझी बताउनुुहुन्छ । सुन खोजेको पैसाले ऋण तिरेर ६ महिनासम्म खाने र बाँकी ६ महिना खेती किसानी गर्ने समेत बोटेहरुको प्रचलन छ ।

सोही वडाको बैरेनी स्थित चण्डीदेवी राष्ट्रिय माध्यामिक विद्यालयका शिक्षक श्रीकृष्ण आचार्य शैक्षिक स्तर कमजोर भएकोले अधिकांश बोटेहरु आर्थिक रुपमा विपन्न रहेको जानकारी दिनुभयो ।

उनिहरुको सुन खोज्ने प्रविधिलाई पर्यटनसँग जोड्न सक्ने हो भने पर्यटनको नयाँ गन्तव्य हुने बताउनुहुन्छ । उक्त वडाका वडा अध्यक्ष तुलसीराम सापकोटा बोट तथा माझीको ढुङ्गा मूर्ति बनाएर पर्यटकलाई थप आकर्षित पार्ने योजना रहेको बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button