भुक्तानी नपाएसम्म आन्दोलन गर्ने उखु किसानको बटमलाइन

काठमाडौं । आन्दोलनरत उखु किसानले आफूहरुको आन्दोलनको दुई बुँदे बटमलाइन अघि सारेका छन् ।

सरकारले वार्तामा बोलाई पठाएको पत्रको बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीलाई जवाफ लेखी किसानहरुले भुक्तानी नपाएसम्म शान्तिपूर्ण आन्दोलन गरिराख्ने बताएका छन् ।उनीहरुले सरकारी कोषबाट आफूहरुको रकम भुक्तानी गरिदिने वा उद्योगीले रकम नदिएसम्म आन्दोलन जारी राख्ने शर्त अघि सारेका हुन् ।

किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले पत्रमा भनेका छन् ‘प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्य कोष छ भने त्यस कोषबाट किसानहरुलाई बाँकी बक्यौता रकम भुक्तानी गरियोस् र त्यो सम्पूर्ण रकम उद्योगीहरुबाट सरकारले ब्याजसहित असुल उपर गरी भुक्तानी गरियोस् ।’

उनले मन्त्रालयले उद्योगीहरुबाट कुन मितिसम्म भुक्तानी गराउने हो, त्यो मितिसम्म किसानहरु सडकमै शान्तिपूर्ण आन्दोलनमा बस्ने उल्लेख गरेका छन् ।

अध्यक्ष रायले यी दुई शर्तमध्ये सरकारले कुनै एउटा बाटो रोज्ने वातावरण बनाइदिन र ठोस वार्ताको वातावरण बनाउन आग्रह गरेका छन् । उनले भनेका छन्‘ किसानहरु वार्ताका विरोधी होइनन्, परिणाममुखी वार्ता गर्न चाहेका छन् ।’

विभिन्न उखु उद्योगबाट भुक्तानी लिन बाँकी करिब ९० करोड रुपैयाँ पाउनुपर्ने माग गर्दै उखु किसान ५ दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button