देवघाटका विपन्न परिवारलाई न्यानो कम्बल सहयोग

दमौली ।  तनहुँको देवघाट गाउँपालिकाका विपन्न परिवारलाई नेपाल प्रहरी श्रीमती संघ पोखराले न्यानो कपडा प्रदान गरेको छ । गाउँपालिकाको वडा न १ बसेनीटारका एक परिवारलाई संघले न्यानो कम्मल र खाद्यान्न वितरण गरेको हो ।

कोरोना भाईरसका कारण आफ्नो दैनीकी गुमाएका र जिविकोपार्जनमा समस्या भएका एवं जाडोलाई मध्यनजर गर्दै उक्त स्थानका नागरिकहरुको जनजीवनमा केहि मात्रामा भएपनी सहजता प्रदान गर्ने उदेश्यले सहयोग गरेको संघले जनाएको छ ।

स्थानीय ज्येष्ठ नागरिक खड्क बहादुर भुजेललाई कम्मल, चामल, दाल र चिउरा हस्तान्तरण गरिएको ं संघका अध्यक्ष सरस्वती अर्यालले बताइन् ।

देवघाट गाउँपालिकाको तथ्याङ्क अनुसार ९५ प्रतिशत जनजाती र आर्थिक स्थिती कमजोर भएका नागरिकहरुको बसोबास रहेको उक्त बसेनिटार गाउँमा संघद्धारा १०० घर परिवारलाई न्यानो कम्मल तथा चामल, दाल र चिउरा समेत वितरण गरिएको छ ।

राहत वितरण पश्चात कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष अर्यालले संघद्वारा गरिएको राहत वितरणबाट लाभान्वीत हुने नागरिकका सबै समस्याहरु समाधान गर्न नसकिएता पनि यसबाट केहि हदसम्म उनीहरुको जनजीवनमा सहजता प्रदान गर्न संघले प्रयास गरेको बताइन् ।

साथै शान्त र समुन्नत समाजको अभिलाषा राख्ने सबै सरोकारवाला संघ सस्थाहरुलाई उक्त गाउँमा सहयोगका कार्यक्रमहरु ल्याई उनीहरुको जनजीवनमा केहि मात्रमा भएपनी सहजता प्रदान गर्न अनुरोध समेत गरिन् ।

कार्यक्रममा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापाले नेपाल प्रहरी श्रीमती संघ पोखराको उक्त परोपकारी कार्यप्रति आभार प्रकट गर्नुभयो साथै राहत वितरणबाट बढ्दो चिसोका कारण बालबालिका तथा बृद्धबृद्धाहरु प्रत्यक्ष रुपमा लाभान्वीत हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत सम्भव भए यस्तै सहयोगको अपेक्षा समेत गरे ।

उक्त राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेल, स्थानीय जनप्रतिनिधिहरु, गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, सामुदायिक प्रहरी सेवा केन्द्र देवघाट तनहुँका अध्यक्ष, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button