ऋषिङ म्याराथन दौडको तयारी ६० प्रतिशत

एस.वि नेपाली/  ऋषिङ  । जिल्लाको ऋषिङ गाउँपालिकाले पहिलो पटक आयोजना गरेको ऋषिङ म्याराथन दौड प्रतियोगिताको तयारी ६० प्रतिशत सम्पन्न गरेको छ ।

खेलकुदका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले यहि पौष २७ गते म्याराथन दौड प्रतियोगिताको आयोजना गरेको हो ।
म्याराथनको लागि बाटोको दुरी नाप्ने,ठाउँ ठाउँमा चेकप्वान्ट,स्वागत गेट निर्माण गर्ने लगायतका कार्य सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

खुल्ला तर्फ एक, स्थानीय स्तरमा दुई वटा गरी तीन वटा म्याराथन सम्पन्न गरिने गाउँपालिका कार्यालयले जनाएको छ । खुला तर्फ ४० किलोमिटर,स्थानीय तर्फ दश र आठ किलोमिटर दुरीको अल्ट्रा म्याराथन हुने छ ।
खुला तर्फ ऋषिङगाउँपालिका–८ को गढीबाट ऋषिङगाउँपालिका–३ दुबुङकोट भ्यू टावर सम्मको करिब ४० किलोमिटर दुरी कायम गरिएको छ । गढी डाँडाबाट शुरु भई ऋषिङ रानीपोखरी,हतियार भण्डारण गर्ने कोत, गोठार्दी,चालिसे, थप्रेक तल्लो भिरकोट हुदै दुबुङ पुगेर टुंगिने छ ।
सुन्दर रमणीय ऋषिङमा आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आर्कर्षित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।
प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमश ः रु.६५ हजार,४० हजार र २५ हजार हजार नगद तथा मेडल ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यसैगरी तीन जनालाई रु.दश हजारका दरले सान्तवना तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यसैगरी,स्थानीय ऋषिङ पुरुष तर्फको म्याराथन प्रतियोगिता अनुरुप ऋषिङ गढीबाट ज्यामिरे सम्मको करिब दश किलोमिटर दुरी कायम गरिएको छ । उक्त प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमश ःरु.पन्ध्र हजार दश हजार र पाँच हजार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी स्थानीय ऋषिङ महिला तर्फको म्याराथन प्रतियोगितामा करिब आठ किलोमिटर दुरी कायम गरिएको छ । ऋषिङगाउँपालिका–८ गढीबाट ऋषिङ–७ मा अवस्थित दुर्गा भवानी मन्दिरसम्मको चार किलोमिटर दुरी रहेको छ । उक्त प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमश :  रु.दश हजार,आठ हजार र पाँच हजार तथा ट्रफि,मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ ।

भ्यू टावरको उद्घाटन तथा शिलान्यास :
त्यसैगरी ऋषिङगाउँपालिका–३ स्थित हालै निर्माण गरिएको दुबुङ भ्यू टावरको सोही दिन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
गाउँपालिकाको बजेटबाट रु.२२ लाख ४६ हजारको लागतमा उक्त भ्यू टावर निर्माण गरिएको हो । समुन्द्री सतहबाट करिब एघार सय मीटर उचाईमा उक्त भ्यू टावर निर्माण गरिएको हो ।

उक्त स्थानबाट सदरमुकाम दमौली, भिमाद, दुलेगौडा,खैरेनीटार लगायतका मुख्य शहर देखिनुका साथै मनोरम हिमश्रृखला र रमणीय डाँडा काँडा देख्न सकिन्छ ।

ऋषिङगाउँपालिका–८ स्थित ऐतिहासिक एवं पर्यटकीयस्थल गढि कोतमा निर्माण हुन लागेको गढि भ्यू टावरको शिलान्यास समेत सोही कार्यक्रमका अवसरमा गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button