तनहुँ जलविद्युत आयोजना :  बिद्युत टावर निर्माणार्थ साढे तेइस रोपनी जग्गा अधिग्रहण गरिदै  

सोनबहादुर नेपाली  ।  १४० मेगावट बिद्युत उत्पादन गर्न लागेको तनहुँ जलविद्युत आयोजनाले बिद्युत टावर निर्माणको लागि व्यक्तिको नाउँमा रहेको साढे तेइस रोपनी जग्गा अधिग्रहण गर्ने तयारी थालेको छ ।

जिल्लाको ऋषिङगाउँपालिका–१ झापुटारमा रहेको आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनसंग जोड्नको लागि बिद्युतको टावर निर्माण गर्नुपर्ने भएकोले उक्त जग्गा अधिग्रहण गर्न लागेको हो ।

जग्गा अधिग्रहण पश्चात भरतपुरसम्मको प्रसारण लाइनको निर्माण कार्य तीब्र गतिमा भैरहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताउनुभयो ।
अधिग्रहण गरिएका जग्गाको मूल्याङ्कनको अन्तिम चरणमा रहेका छौ । उहाँले भन्नुभयो ‘प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिले मुआब्जा निर्धारण उपसमिति गठन गरी सोही समितिले काम गरिरहेको छ ।’

बिद्युत टावर निर्माणको जग्गा अधिग्रहण गर्दा जिल्लाको व्यासनगरपालिका केशवटार, धरमपानी, आँबुखैरेनी र देवघाट गाउँपालिका क्षेत्रका व्यक्तिको जग्गा अधिग्रहण गरिएको उहाँले जानकारी दिनुभयो ।

सामुदायिक बनको लगत लिने र सामुदायिक बनले स्वीकृत दिनुपर्ने कार्य पनि सम्पन्न भैसकेको छ । सरकारी जग्गा पर्ने ठाउँहरुको रुखको गणना गर्ने कार्य पनि सम्पन्न भएको छ । उहाँले भन्नुभयो ‘तनहुँ जिल्लाको रुख गणना कार्य सकिएपनि चितवनको आउँन बाँकी रहेको छ ।’

आयोजनाबाट प्रभावितलाई सामुदायिक विकास कार्यक्रम 

तनहुँ जलविद्युत आयोजनाबाट प्रत्यक्ष प्रभावित भएका स्थानीयबासीलाई लक्षित गरी सामुदायिक विकास कार्यक्रम शुरु गरेको छ ।
उक्त कार्यक्रम अन्र्तगत कुलकुलेसा,बाटो,मन्दिर,पुल,विद्युत,दाहसंस्कार लगायत क्षेत्रमा काम गरी पुर्नस्थापना गर्न लागिएको वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायक परामर्शदाताका प्रशासकीय अधिकृत उद्वव पौडेलले जानकारी दिनुभयो ।

आयोजनाबाट सात वटा झोलुङ्गे पुल,बीस वटा गोरेटो बाटो,नौ वटा दाहसंस्कार स्थल,दुई वटा बिद्युत वितरण लाइन र दुई वटा कुलो प्रभावित भएकोले काम शुरु गरिएको उहाँले बताउनुभयो ।

आयोजनाबाट प्रभावित भएका भौतिक संरचना निर्माण गर्दा करिब रु.साढे दुई अरब खर्च हुने अनुमान गरिएको प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

आयोजना प्रभावित क्षेत्र :
तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रलाई चार समूहमा विभाजन गरी निर्माण कार्य थालेको छ ।
जिल्लाको साविकको झण्डै १८ वटा गाउँ विकास समिति प्रभावित हुने छन् ।

जलाशय क्षेत्र अन्र्तगत भीमाद, छाङ, माझकोट, ऋषिङ, रानीपोखरी, कोटदरबार, जामुने, साबुङभगवतीपुर, काँहुँ शिवपुर र व्यासनगरपालिका रहेको छ ।

त्यसैगरी बाँध,बिद्युत गृह,पानी निस्कासन सुरुङ र स्वीच वार्ड काँहुशिवपुर र व्यासनगरपालिकामा रहने छ ।
आयोजनाको सुविधा संरचनाहरु (पहुँच मार्ग,बसोवास क्षेत्र, ब्याचिङ्ग वार्ड) काँहुशिवपुर र व्यासनगरपालिकामा रहेको छ भने तल्लो तटीय क्षेत्र काँहुशिवपुर, पोखरीभञ्ज्याङ, केशवटार, धरमपानी,बैदी, छिपछिपे, देवघाट र देउराली रहेको छ ।

उक्त आयोजनाको लम्बाई १८ किलोमिटर रहनेछ । पानीले भरिदा पानीको अधिकतम सतह समुन्द्र सतहबाट ४१५ मिटर रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button