फोहोरको डङ्गुरले गिज्याउने शुक्लागण्डकी

ठेक्का प्रक्रियामा अनियमितता गरेको उजुरी अख्तियारमा

हरि खरेल/दुलेगौडा ।  उज्यालो र समृद्ध नगरको पहिचामा बनाउने अभियानमा रहेको तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रमुख समस्याको रुपमा फोहोर ब्यवस्थापनको विषय छ । फोहोर ब्यवस्थापनका लागि अनेकन पहल गरेको यस नगरपालिकालाई सेती नदीको किनारमा फालिएको फोहोर र जलाउँदा निस्कने कालो धुवाले गिज्याइरहेको छ ।

नगरपालिकाले फोहोर मैला ब्यवस्थापनका लागि संकलन केन्द्र निर्माण समेत गरेको छ । तर पनि केन्द्र सञ्चालन गर्ने प्रक्रियामा अनियमितता हुदाँ अझै पनि नगरपालिका भित्रका फोहोर मैला ब्यवस्थापनलाई ब्यवस्थित बनाउन सकिएको छैन । फोहोर संकलन तथा प्रशोधन केन्द्र निर्माण पश्चात सञ्चालनमा ल्याउने तयारी भईरहेको बेलामा नगरपालिकाका कर्मचारी र केही जनप्रनिधिहरुको मिलेमतोमा अनियमिता भएको एक कार्यपालिका सदस्यले आरोप लगाउने गरेका छन् ।

उनका अनुसार केन्द्र सञ्चालन तथा फोहोर ब्यवस्थापनका लागि आह्वान गरिएको टेन्डरमा अनियमितता भएको थियो । उक्त अनियमिताको मुद्धा अहिले अख्तियारमा रहेको छ । तनहुँ खबरले यस विषयमा जानकारी लिन खोज्दा नगरपालिका मेयर किसान गुरुङ्ग समाधानको पहल भईरहेको भन्दै सञ्चारकर्मीहरुसँग टाढिदै आएका छन् । उनले यस अघि नगरपालिकाको आठौ अधिवेशन भन्दा पहिले यो समस्याको समाधान हुने प्रतिकृया दिएका थिए । तर समस्या भने ज्यूका तिउ रहेको नगर प्रबक्ता खिमबहादुर कुमालले बताए ।

हामीले शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीलाई यस विषयमा जानकारी दिन अनुरोध गरेपनि उनी यस विषयमा नवोल्ने अडान लिए ।

दुई बर्ष पहिला नगरको वडा नं. ५ स्थित कसेरीमा फोहोर संकलन केन्द्र निर्माण भएको थियो । स्थापना भएको करिब २ बर्ष बितिसक्दा पनि फोहोर व्यस्थापनको लागि वैकल्पिक व्यवस्थापन भन्दै नगरले संकलित फोहोरहरु वडा नं. ४ र वडा नं. ५ का खुल्ला चौर, खोल्सा र नदीकोको छेउमा फाल्दै आएको छ ।

गत बर्ष नै फोहोर ब्यवस्थापन गर्ने ठेक्का पाएको सापकोटा निर्माण सेवा प्रालिले नगरपालिकाले अनेकन समस्या देखाउदै निर्णय लिन नसकेको जनाएको छ । प्रालिका सञ्चालक अर्जुन सापकोटाले सम्झौता गर्न बोलाएर पनि तत्कालिन प्रमुख प्रशासकीय अधिकृत देवबहादुर अधिकारीले सम्झौता गर्न नसक्ने जवाफ सहित फर्काएको तनहुँ खबरलाई बताए ।

नगरपालिकाको वन, वातावरण तथा सरसफाई शाखा प्रमुख राजेनद्र सोतीले भने जनप्रतिनिधिको आपसी टकरावले केन्द्र सञ्चालनमा आउने नसकेको बताउने गरेका छन् । “जनप्रतिनिधिहरु आफु आफु नै कसैले त्यो काम गर्न पर्छ र कसैले त्यो काम गर्न हुन्न भन्ने जस्ता विवादका विषयहरुले व्यवस्थापनमा समस्या आएको हो ।”

नगरले हालसम्म फोहोर व्यवस्थापनको लागि डेढ करोड रुपैयाँ बजेट खर्च गरिसकेको छ । जसमध्ये २० लाख रुपैयाँ संकलन केन्द्र निर्माणमा, २८ लाख फोहोर व्यवस्थापनको लागि सवारी साधन खरिद, २२ लाख केन्द्रमा जाने सडक निर्माण र बाँकी ८० लाख व्यवस्थापनका अन्य पक्ष (डि.पि.आर निर्माण, अनुगमन) लगायतका क्षेत्रमा खर्च भईसकेको नगरपालिकाले जनाएता पनि ब्यवस्थापनको पक्षमा भने कुनै पहल भएको देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button