शवदाह गृहको प्रथम अधिवेशनबाट बाबुराम कार्की अध्यक्षमा चयन

दुलेगौडा । शुक्ला नागढुङगा शवदाह गृहको प्रथम अधिवेशनबाट बाबुराम कार्की अध्यक्षतामा सर्वसम्मत चयन भएका छन् ।

शनिवार शुक्लागण्डकी–५ शवदाह गृह परिसरमा आयोजित साधारण सभा एवम् प्रथम अधिवेशनले उपाध्यक्षमा विष्णु शाही, सचिवमा हरिराज अधिकारी, कोषाध्यक्षमा आरती सुवेदी, सहसचिवमा हरि भण्डारी चयन गरेको हो । सदस्यहरुमा टौं बहादुर गुरुङ, पहल वि.क., लिल बहादुर भण्डारी, नारायण प्रसाद श्रेष्ठ, कमला भुजेल, देवकी कुवँर, विष्णु थापा र सकुन्तला खातुन रहेका छन् । समितिको लेखा समिति संयोजकमा देवलाल खनाल, सदस्यहरुमा सोम नारायण श्रेष्ठ, बशन्त बहादुर थापा, दुर्गा कुमार श्रेष्ठ, भगवती सिग्देल रहेका छन् ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री आशा कोइरालाले शुक्लागण्डकीमा व्यवस्थित शवदाह गृह बन्दै गएको बताए । सेती नदिको किनारमा रहेका जमिन उपयोगविहिन भइरहेका बेलामा स्थानीयको पहलमा शवदाह गृह निर्माण भएकोमा सबैलाई धन्यवाद दिइन् । उनले यस्ता शवदाह गृह धार्मिक एवम् पर्यटनका दृष्टिले समेत महत्वपूर्ण हुने भएकाले व्वयस्थित रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

मुल उपभोक्ता एवम् व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति लेखा समिति संयोजक देवलाल खनाल, टोल विकास संस्थाका अध्यक्ष ढाकाराम गिरी, तनहुँ सेवा हस्पिटलका अध्यक्ष हरि खड्का लगायतले बोलेका थिए ।

गत २०७६ साल भदौको पहिलो हप्ता बेलचौतारामा भएको भेलाले बाबुराम कार्कीको अध्यक्षतामा तदर्थ समिति गठन गर्नुका साथै विभिन्न उपसमिति र सल्लाहकार समिति बनाइएको थियो । स्थानीय, शुभचिन्तक र देशविदेशबाट संकलित रकम, र स्थानीय र गण्डकी प्रदेशको निर्वाचन क्षेत्र विकास कोषको सहयोगमा हाल विभिन्न संरचना तयार भएका छन् । नगरकै नमुनाको रुपमा प्रदुष्णरहित, वातावरणमैत्री, अध्याधुनिक शवदाह मेसिन स्थापना गर्ने तयारीमा समिति जुटिरहेको अध्यक्ष कार्कीले बताए ।

जीवनमा आफू बस्ने घर त बनायौं कयौ पटक, आउनुहोस सबै मिलि अब बनाउ अन्तिम साझा घर यसपटक भन्ने मुल नाराका साथ अभियानको रुपमा अगाडी बढाइएको सो शवदाह गृहमा नदि छेउमा तटबन्ध, मलामी बस्ने ट्रस्ट, शौचालय, पानी ट्याङ्की, घेराबार निर्माण, ट्रससहितको फलामे चिता लगायत निर्माण सम्पन्न भइसकेको सचिव हरिराज अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button