व्यास नगरपालिकाको ३४ औ नगरसभा सम्पन्न

व्यास र छिमेकी पालिकाको सिमाना हेरफेर तथा वडा विस्तार

सानेबहादुर नेपाली / दमौली ।  व्यास नगरपालिकाको ३४ औं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी नगरसभा सम्पन्न भएको जनाएको हो ।

वडा सिमाना हेरफेरका लागि उपप्रमुख मीरा जोशीको संयोजकत्वमा गठित समितिको प्रतिवेदन साथै सर्वदलीय वैठकको निर्णय बमोजिम सिमाना हेरफेर तथा वडा विस्तार गरिएको उपप्रमुख मिरा जोशीले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाको आन्तरिक तथा छिमेकी गाँउपालिका तथा नगरपालिहरुका आंशिक क्षेत्रहरु समेत हेरफेर गरिएको छ । व्यास र छिमेकी पालिकाहरुको विभिन्न वडाहरुको सिमाना हेरफेर तथा वडा विस्तार गर्ने निर्णय गरिएको उहाँले सो अवसरमा बताउनुभयो ।
नगरसभाले चालु आर्थिक बर्ष ०७७÷०७८ को संशोधित नीति तथा कार्यक्रमको समिक्षा प्रतिवेदन पारित गरेको छ ।

चालु आर्थिक बर्ष ०७७÷०७८ को संशोधित वजेट तथा कार्यक्रम रु.एक अर्ब ५७ करोड २७ लाख बाह्र हजारलाई यथावत कायम गरी संशोधित आयमा संघ सरकार तथा जिल्ला समन्वय समितिबाट प्राप्त हुने रु.दुई अर्ब २८ करोड १९ हजार थप गरी आन्तरिक आयमा सोहि बराबरको घटाईएको नगरपालिकाले जनाएको छ ।

चालु आर्थिकबर्ष ०७७÷०७८ को संशोधित आर्थिक विधेयक–२०७७ र चालु आर्थिक बर्ष ०७७÷०७८ को संशोधित विनियोजन विधेयक–२०७७ पारित गरेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

नगरसभामा पेश भएका विभिन्न प्रस्ताव एवं अन्य समसामयीक विषयहरु उपर विभिन्न वडाबाट सहभागिता जनाउनुहुने २७ जना नगर सभासद्ज्यूहरुले आआफ्नो विचार राख्दै छलफलमा भाग लिएका थिए । लेखा समितिबाट पेश हुन आएको आर्थिक बर्ष २०७५र०७६ सम्मको बेरुजु तथा पेश्की सम्बन्धी रु.दश करोड ५० लाख ४७ हजार सात सय साठी संपरीक्षण गर्नु पर्ने प्रस्ताब पारित गरेको छ ।

घरवहाल कर लगाउने प्रयोजनका लागि आवश्यक तथ्याङ्क संकलन एवं दर निर्धारण गर्ने उदेश्यका साथ व्यास–२ का वडाअध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा घरवहाल कर व्यवस्थापन समिति गठन गरेको छ । त्यसैगरी स्थानीय स्तरमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर निर्धारण एवं अध्यावधिक गर्ने कार्यका लागि नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

वडा नं २ र ३ मा आठ आना भन्दा बढी क्षेत्रफलमा निर्माण हुने व्यवसायीक प्रयोजनका भौतिक संरचनाहरुको निर्माण स्वीकृति प्रदान गर्दा सत्तरी प्रतिशत भन्दा बढी जग्गा उपयोग गर्न नपाउने गरी निर्णय गरेको छ । पचास प्रतिशत भन्दा बढी जग्गा उपयोग गरी संरचना निर्माण गर्ने जग्गाधनीहरुले अनिवार्य रुपमा अण्डर ग्राउन्ड पार्किङको व्यवस्था मिलाउनुपर्ने गरी मापदण्ड निर्धारण गरिएको छ । बिपी खेलमैदानको कवर्डहल स्थानान्तरण गर्ने, करका दरमा सामान्य हेरफेर गर्ने लगायतका प्रस्तावहरु पारित गरेको नगरपालिकाले जनाएको छ ।

को को पुरस्कृत भए ?
३४ औ नगरसभाको अवसरमा उत्कृष्ट कार्य गर्ने कर्मचारी,उपभोक्ता समिति,टोल विकास संस्था तथा अधिकतम कर तिर्ने करदाता नगरपालिकाले सम्मान गरेको छ । आव ०७६÷०७७ मा सबैभन्दा बढी कर तिर्ने व्यास–२ निवासी बृर्षराज श्रेष्ठ,व्यास–२ ग्रिनेरी टोल विकास संस्था,व्यास –१३सिद्धगुफा संरक्षण फार्मलाई सम्मान गरेको छ ।

त्यसैगरी शिक्षा तथा सामाजिक शाखाका नगेन्द्र रेग्मी,बरिष्ठ आलेप अधिकृत कुमार कञ्चन जिसी,योजना शाखाका डा.राजु पौडेल,प्रशासन शाखाका मेघनाथ आचार्य, व्यासनगरपालिका पशु विकास अधिकृत डा.मनोज बिश्वकर्मा,राजश्व लेखाका अर्जुन श्रेष्ठ,स्वास्थ्य शाखाका प्रमोद सोती,खरिदार बिष्णु खड्का,वडा सचिव सावित्री आचार्य,घरनक्सा शाखाका याम पौडेल,सरसफाई शाखाका भाग्यशाली ढुङ्गना,नगर प्रहरी रबि गौली,सवारी चालक तीर्थ तामाङ र कार्यालय सहयोगी राजकुमार श्रेष्ठलाई खादा तथा प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button