नारी दिवसको औचित्य

गीता पोख्रेल सिग्देल । हिजो सोमबार अन्तराष्टिय नारी दिवस । नेपालमा मात्र होइन विश्वभरी नै विभिन्न कार्यक्रम गरि नारी दिवस मनाएको पायो । नारी हक र अधिकारको बहस त लामो समयदेखि चलिरहेको पुरानो विषय हो प्रत्येक वर्ष फागुन २४ गतेलाई नारी दिवसको रूपमा मनाउदै पनि आएका छौ तरपनि समाजमा नारीप्रतिको सकरात्मक सोचको विकाश भने ल्याउन सकिएको छैन् ।

आजभोली समान सहभागीता, समान हक र अधिकार,नारीको सम्मान इज्जत गर्ने गरेको वा भन्ने गरेको पाउन सकिन्छ र त भन्ने गर्दछन् समान सहभागीता र अवसर दिएकै छ के को नारी दिवस ? तर ति हक, अधिकार र समान अवसर अझैपनि देखावटी र भनाइमा मात्र सीमित छन् । कतिपय ठाँउमा नारीले नारी भएकै कारण क्षमता प्रदर्शन गर्न नपाएका त्यस्ता उदाहरणहरु पनि छन् ।

नारीको क्षमता र योग्यताको कदर नगरी पुरुषलाई पुरुष भएकै नाताले कम क्षमता र योग्यतालाई मजवुत ठान्ने हो यो परिपाटीको अन्त्य भैइसकेको छैन् । हरेक ठाँउमा केन्द्रिय भृमिका भरसक पुरुषले नै निभाउने गर्थे सफल कति बन्थे त्यो त उनीहरुलाई नै थाहा होला । दुई पाङगा्रले चल्ने गाडीमो के एक पाङगा्र मात्र छ राम्रो काम गर्ला ? पक्कै पनि गर्दैन । एकातिर दुईवटाको सट्टा चार वटा हाम्रा हात भए पनि अर्कोपट्टि हात नै छैन भने के राम्रोसँग काम गर्न सकिएला ? हरेक क्षेत्रमा नारी र पुरुषको समान सहभागिता पुगोस् अनि मात्र हाम्रो समाज र राष्टले काँचुली फेर्नेछ ।

नारी विनाको संसार के सम्भव छ ? कल्पनै गर्न समेत सकिदैन । नारी विनाको घर कस्तो घर बन्दछ ? नारी नै नभएको समाज कस्तो समाज बन्छ होला ? कसैले सोचेको छ ? सायद यहि शाश्वत सत्य बुझेर होला विश्वमै नारीको महिमा स्वीकारेका छन् । तर पनि पितृसत्तात्मक समाजले नारीलाई हेर्ने सोचमा भने केहि खोट अझै भेटिन्छ ।

जस्तो नारीलाई उनको वास्तविक शक्ति छाँयामा पार्दै यौन, सौन्दर्य र अशक्त आदि विशेषण जोडेर त्यहि रुपमा हेरिनु यिनै खोटयुक्त सोचका उपज हुन् । यही कारण नारी जताततै बलात्कृत हुन परेको छ । आफन्तहरुबाटै अपमानित हुन परेको छ । नारीले बाँच्नका लागि अनेकै पीडा,अपमान सहेर संघर्ष गर्नुपर्छ । यहाँ नारीलाई पलपलमा अपमान र हिंसाको विष पिलाएर मजा लिनेहरुको कमि छैन् । भन्न त भन्छन् नि समानता र आदर्शका कुराहरु तर भन्ने एउटा गर्ने एउटा ।

हिजोआज नारीलाई घर परिवार जस्तै समाज र राष्टको विकाश र उन्नतिको लागि समाजको हरेक तह र तप्कामा महिलाकोे भृमिका र आवश्यकता महशुस गर्न त थालिएको छ तर पनि महिलाबाट स्वार्थ र फाइदा बढि लिन खोजिएको पाइन्छ । घर बाहिर र भित्र जहातही समस्या अवरोधहरु छन् बल्ल तल्ल पाइला चालिरहेको बेला फेरीपनि समस्या र अवरोधहरु खडा पारिएको हुन्छ ।

आफ्नो क्षमता र हैसिअत लुकाउन विवश पारिन्छ । हाम्रो समाजमा सफलताको जस पुरुषले खाने पीडाको बोध नारीले गर्ने परिपाटी आजपनि विद्यमान छ । नारी अधिकार नारामा मात्रै सिमित नगरियोस नारी भएकै कारण अपमानित जीवन जीउन कसैलाई पनि नपरोस् । परिवर्तनका लागि हाम्रो समाजमा सकरात्मक सन्देश दिने,समानतामूलक सोच ल्याउने खालका कार्यक्रमहरू ल्याउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button