नारी दिवसमा जेष्ठ महिला सम्मानित

 दुलेगौडा । महिला विकास बहुउदेश्यीय सहकारी संस्था खैरेनीटारले शुक्लागण्डकी ३ उदेनढुङ्गामा महिला दिवस मनाएको छ । १११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सहकारीले जेष्ठ नागरिक सम्मान, खेलकुद प्रतियोगिताका साथै सदस्यहरुलाई अधिकारबारे प्रशिक्षण प्रदान गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री एंव् प्रदेश सभा सदस्य आशा कोईरालाले संविधानमा लेखिएका महिलाका हक अधिकारलाई व्यवहारमा उपयोग गर्न महिलाहरुलाई आग्रह गरिन् । “संविधानमा छोरा छोरी दुवैका लागि पैतृक सम्पतिमा समान हकको व्यवस्था गरिएको छ, व्यवहारमा छोरा र छोरी दुवैलाई समान अंश दिन आमा बुवा तयार हुनुपर्छ” कोईरालाले भनिन् ।

गर्भासयमा नै लिङ्ग पहिचान गरी छोरी भए भ्रुण हत्या गर्ने चलन विकृति बढिरहेकोप्रति आपत्ति जनाउँदै कोईरालाले आमाको पेटबाटै छोरीमाथि शुरु भएको विभेद अन्त्य गर्न स्वंयम् आमाहरु बढि सचेत हुनुपर्ने बताइन् । छोराछोरी बिच घरायसी कामकाजमा हुने असमान बाडँफाँड नै दुव्र्यवहार, बलत्कार जस्ता महिला हिंसाको प्रारम्भिक स्रोत भएकाले छोरालाई पनि घरधन्दाका कामकाज र अनुशाशनको संस्कार सिकाउन तथा छोरीलाई पनि अतिरिक्त सिकाई, खेलकुद, घुमफिर जस्ता अवसर प्रदान गर्नुपर्ने बताइन् । साना साना कुरामा समान व्यवहार गर्ने हो भने ठुला ठुला जघन्य अपराधका घटना घट्दै जाने कोईरालाको भनाई छ ।

कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका सामाजिक शाखा प्रमुख हिमा पोख्रेलले घर देखि कार्यालयसम्मका जिम्मेवारीमा महिला र पुरुष दुवैको समान पहुँच हुनुपर्ने बताउनुभयो । घरको काम महिलाले मात्रै गर्नुपर्छ भन्ने परम्परावादी सोचका कारण जागिरे महिलालाई कामको दोहोरो भार परिरहेको भन्दै घरायसी काममा पुरुषको सहभागिता बढाउन परिवार र समाजले उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।
अधिवक्ता शिवदक्त ढकालले कानुनले महिला र पुरुषलाई समान अधिकार दिएको भन्दै आफ्नो हक अधिकार खोज्न महिलाहरु सचेत हुनुपर्ने बताउनुभयो । “घरमा श्रीमान्को जति हक हुन्छ, श्रीमतीको पनि उतिनै हक हुन्छ, पुरुषको दवावमा होईन एक अर्काको सह अस्तित्वमा रमाउनुहोस्” ढकालले भने ।

“महिलाको सुरक्षा, सम्मान र रोजगार, सम्वृद्व नेपालको आधार” भन्ने राष्ट्रिय नारा सहित मनाईएको महिला दिवसको उक्त कार्यक्रम सहकारीका पुर्वै अध्यक्षहरु मंगला राना, सिता कुमारी उपाध्याय, सीता वि.क लगायतले शहरमा मात्रै होईन गाउँमा पनि महिला अधिकारका आवाज उठाउने कार्यक्रम गरिएको भन्दै खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागी महिलाहरुले सहाकारीमा आवद्व भएपछि आर्थिक स्तर सुध्रिएको र समाजमा सम्मानजनक व्यवहार महशुश गरेको बताएका थिए ।

कार्यक्रममा उक्त भेगका सहकारीका विभिन्न ११ समुहका जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । सहकारीले ८५ वर्षीय सुुवर्ण राना सहितका ११ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा गुदेलीमायाँ श्रेष्ठ, मनमायाँ राना, चित्रमायाँ परियार, सीता रावत, बसन्तीमायाँ श्रेष्ठ, गालुमायाँ राना, विष्णुमायाँ नेपाली, खिम कुमारी वि.क, सीता भुजेल र सेतीमायाँ गुरुङ रहेका छन् ।

संस्थाकी अध्यक्ष सुर्यकला ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव विन्दु तिमिल्सेनाले गरेकी थिए थियो भने स्वागत उदेनढुङ्गा समुहका अध्यक्ष गंगा बस्नेतले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button